प्रिसा साह मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सरकारलाई राष्ट्रियसभाको निर्देशन

प्रिसा साह मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सरकारलाई राष्ट्रियसभाको निर्देशन



काठमाडौं । राष्ट्रियसभाले भारतको ओडिशामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी प्रिसा साहको मृत्युबारे निष्पक्ष छानबिन गरी उचित न्याय प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।

आइतबार बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बततए । घटनाको कारण खोजेर मृतक र मृतकका परिवारलाई न्याय दिन अध्यक्ष दाहालले सभाको तर्फबाट सरकारलाई निर्देशन दिएका हुन् । उनले कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित र निर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरे ।

राष्ट्रियसभाका सांसदहरूले घटना भएको केआईआईटी विश्वविद्यालयमा एनओसी नदिन सुझाव दिएका छन् । विदेशमा अध्ययन गर्न जानका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वैदेशिक अध्ययन (एनओसी) शाखाबाट वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिनुपर्छ । यस निम्ति कुन कुन कलेजमा लिन पाउने वा नपाउने भन्नेसमेत सरकारले तय गर्ने गर्दछ ।

सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर ८ का श्यामप्रसाद साहकी २० वर्षीया छोरी प्रिसा अस्ति बिहीवार बेलुका केआईआईटीमा मृत फेला परेकी हुन् । त्यही कलेजमा यसअघि रुपन्देहीकी प्रकृति लम्साल पनि मृत भेटिएकी थिइन् ।