क्लब विश्वकपको उद्घाटन खेलमा इन्टर मियामी र अलअहलीबीच बराबरी

क्लब विश्वकपको उद्घाटन खेलमा इन्टर मियामी र अलअहलीबीच बराबरी



काठमाडौं । क्लब विश्वकप २०२५ को प्रारम्भिक खेल रोमाञ्चक भए तापनि गोलरहित बराबरीमा टुंगिएको छ। अमेरिकाको हार्ड रक स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामी र इजिप्टको क्लब अल–अहलीले एक अर्काविरुद्ध गोल गर्न सकेनन्।

खेलको अन्तिम समयमा इन्टर मियामीका कप्तान लिओनल मेसीले निर्णायक प्रयास गरेका थिए। अतिरिक्त समयको ९६औं मिनेटमा उनले दायाँ छेउबाट हानेको कर्लिङ प्रहारलाई अल–अहलीका गोलरक्षक मोहमद एलशेनावीले प्रभावशाली बचाउ गरेका थिए। उक्त प्रहार क्रसबारमा लागेर बाहिरिएपछि मियामीले गोलको अवसर गुमायो।

यसअघि दोस्रो हाफको ६०औं मिनेटमा मेसीले हानेको फ्रिकिक पनि गोलपोस्टको छेउबाट चुकिएको थियो। लगभग ६० हजार दर्शक क्षमताको रंगशाला भरिएको उक्त खेलमा दुवै टिमले आ–आफ्ना पक्षबाट उत्कृष्ट प्रदर्शन गरे।