हर्क साम्पाङका समर्थक र माओवादी कार्यकर्ता आमनेसामने हुँदा धरान तनावग्रस्त

हर्क साम्पाङका समर्थक र माओवादी कार्यकर्ता आमनेसामने हुँदा धरान तनावग्रस्त



धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रबिक्रम बेघाबीचको विवाद हुँदा धरान तनावग्रस्त बनेको छ ।

श्रमदानको बिल उपभोक्ता समिति बनाएर पेश गरेपछि भुक्तानी रोकेको भन्दै उपमेयर आइन्द्र बेघालाई मेयर हर्क साम्पाङ पक्षले ‘हार्दिक श्रद्धाञ्जली’ लेखेपछि माओवादी कार्यकर्ता आक्रोशित भएका छन् ।

मंगलबार दुवै पक्ष आमनेसामने भएपछि यहाँ एपीएफ, नेपाल प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको छ ।

दिउँसो २ बजे बोलाइएको बजेट तथा सिलिङ निर्धारण समितिको बैठकअघि मेयरको कार्यकक्षा दुईजनाबीच विवाद भएको र त्यसको सूचना बाहिरिएपछि नारायणपथमा श्रमदान गरिरहेका हर्कका समर्थक उपमहानगर आएको बताइएको छ ।

हर्कका समर्थकले ‘विकासविरोधी उपमेयर चाहिँदैन, राजनीतिक दलहरू चाहिँदैन’ भन्दै नाराबाजी गरेका छन् ।

माओवादी कार्यकर्ताले ‘हर्क साम्पाङ मुर्दावाद, गैरकानूनी काममा राज्यको दोहन गर्न पाइँदैन भन्दै’ नारा लगाएका छन् ।

साम्पाङका समर्थक र उपमेयर बेघासम्वद्ध माओवादीका कार्यकर्ता आमनेसामने भएपछि स्थिति तनावग्रस्त बनेको हो ।