काठमाडौं । बजेट तर्जुमा समितिले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई ध्यानाकर्षण पत्र पठाएको छ । समितिले तोकिएको समयसीमाभित्र बजेट ल्याउन नसकेको र छिटो कार्यपालिका बैठक बोलाउन ध्यानाकर्षण पत्र पठाएको हो ।
“काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको बैठक लामो समयदेखि बस्न सकेको छैन । कार्यपालिकाका सदस्यहरूबाट बैठक मागसमेत भएकोमा बैठक आह्वान हुन सकेको छैन,” पत्रमा भनिएको छ, “आर्थिक वर्ष २०८२/०८३ को बजेटको सीमा निर्धारणका लागि बैठक आह्वान गर्न तथा आर्थिक वर्षको वार्षिक बजेट समेत नगरसभासमक्ष पेस गर्नुपर्ने अनिवार्य छ । त्यसैले बैठक आह्वानको लागि अनुरोध गरेका छाैँ ।”
समितिको संयोजक उपमेयर सुनिता डंगोल र सदस्यमा १५ जना कार्यपालिका सदस्य छन् ।
नगरसभाबाट आर्थिक वर्षको बजेट समयसीमा भित्र पारित नहुदाँ महानगरपालिकाद्वारा सञ्चालित विकास निर्माण, कर्मचारीको पारिश्रमिक, जेष्ठ नागरीकले प्राप्त गर्ने भत्ता, फोहरमैला संकलन तथा विसर्जनमा साउन १ गतेबाट बजेट अभाव भए असर पर्ने पत्रमा उल्लेख छ ।
“बैठक आह्वान गरी महानगरपालिकाको विकास निर्माणका योजना, राजश्व संकलन तथा पारिश्रमिक तथा सामाजिक दायित्व निर्वाह गर्ने कार्यका लागि प्रमुखज्यूलाई ध्यानाकर्षण गर्दछौँ,” पत्रमा भनिएको छ ।


प्रतिक्रिया