फिफा क्लब विश्वकपमा अन्तिम १६ मा खेल्ने १४ टोलीको टुंगाे

फिफा क्लब विश्वकपमा अन्तिम १६ मा खेल्ने १४ टोलीको टुंगाे



काठमाडौं । फिफा क्लब विश्वकपमा अन्तिम १६ मा खेल्ने १४ टोलीको टुङ्गो लागेको छ । आज बिहान भएको खेलमा मेक्सिकन क्लब मोन्टेरे जापानको उरावा रेड डाइमन्ड्सलाई ४–० ले हराउँदै समूह ‘ई’ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।

अहिलेसम्म भएका तीन वटै खेलमा पराजित उरावा अङ्कविहीन बनेको छ । यो समूहबाट इन्टर मिलान रिभर प्लेटलाई २–० गोलले हराउँदै सात अङ्कका साथ शीर्ष स्थानमा रही अन्तिम १६ मा पुगेको छ ।

अन्तिम १६ मा मोन्टेरेले जर्मन क्लब बोरुसिया डर्टमन्डम तथा इन्टरले ब्राजिलियन क्लब फ्लुमिनेन्सँग खेल्नेछ । योसँगै क्लब विश्वकप खेल्न १४ टोलीको टुङ्गो लागेको छ ।

समूह ‘ए’ को इन्टर मियामीले समूह ‘बी’ को विजेता पीएसजीसँग खेल्दा समूह ‘ए’ को विजेता पाल्मरसले समूह ‘बी’ को उपविजेता बोताफोगोसँग खेल्नेछ ।

यसैगरी समूह ‘सी’ काे विजेता बफिन्काले चेल्सीसँग खेल्ने छ भने समूह ‘डी’ को विजेता फ्लामेङ्गोले बायर्नसँग खेल्नेछ ।

समूह ‘एफ’ बाट युभेन्ट्स र म्यानचेस्टर सिटीले एक खेलअघि नै अन्तिम १६ मा स्थान बनाइसकेका छन् । समान २ खेल जितेका यी दुई टोलीबीच आज हुने खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।