संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले हाल देखापरेको अत्यधिक गर्मीको प्रवृत्ति भविष्यमा अझै तीव्र हुने सम्भावना रहेको भन्दै यस प्रकारको तापीय लहरसँग जोगिन र सामना गर्न विश्व समुदाय तयार रहनुपर्ने सुझाव दिएको छ ।
विश्व मौसम सङ्गठनका प्रवक्ता क्लेर नलिसले मंगलबार जेनेभामा उत्तर गोलार्धमा जुलाई महिनातिर सामान्यतया अत्यधिक गर्मी हुने गरेपनि यसपटक गर्मी यामको शुरुमा नै यस्तो तीव्र तापक्रम देखिनु असाधारण अवस्था भएको बताएका हुन् ।
यसबाट हुने मानवीय क्षति आँधी वा वर्षा जस्ता अन्य प्राकृतिक प्रकोपजत्तिकै गम्भीर हुन सक्छ । तर औपचारिक तथ्याङ्कमा प्रायः कम देखिने उनको भनाइ छ । पर्याप्त जानकारी, प्रविधि र पूर्वतयारीका माध्यम भएकाले गर्मीबाट हुने हरेक मृत्यु रोकिन सक्ने खालका भएको राष्ट्रसंघको भनाइ छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार फ्रान्सको राजधानी पेरिसमा भीषण गर्मीका कारण एफिल टावर अस्थायी रूपमा बन्द गरिएको छ । तापक्रम बढ्दै गएपछि फ्रान्सको मौसम विभाग मेटियो फ्रान्सले राजधानी पेरिसलगायत १६ क्षेत्रमा रेड हीटवेभ अलर्ट जारी गरेको छ ।
युरोपका विभिन्न भागहरूमा लगातार लू लागिरहेको छ । यसले जनजीवन मात्र होइन, पर्यटकीय गतिविधिमा पनि असर पुर्याएको छ । पर्यटकहरूको प्रमुख आकर्षणको रूपमा चिनिने एफिल टावरलाई बढ्दो तापक्रम र सुरक्षाका कारण अस्थायी रूपमा बन्द गरिएको अधिकारीहरूले जनाएका छन् ।
फ्रान्सको शिक्षा मन्त्रालयले पनि अत्यधिक गर्मीको असर विद्यालयमा देखिएको बताउँदै करिब १ हजार ३ सय ५० सरकारी विद्यालयहरू पूर्ण वा आंशिक रूपमा बन्द रहने जनाएको समाचारमा उल्लेख छ ।


प्रतिक्रिया