टुंगियो कुलिङ पिरियडबारे छानबिन समितिमा रहने सांसदको नाम

टुंगियो कुलिङ पिरियडबारे छानबिन समितिमा रहने सांसदको नाम



काठमाडौं । निजामती विधेयकको ‘कुलिङ पिरियड’मा भएको चलखेलबारे संसदीय छानबिन समितिका लागि सबै सांसदको नाम टुंगिएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट सातै सांसदको नाम टुंगिएको हो ।

समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा (एमाले)बाट नारायण आचार्य र ईश्वरी घर्ती रहनेछन् ।

यस्तै, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रोशन कार्की रहनेछन् ।

सभामुख देवराज घिमिरेको सचिवालयले दिएको जानकारीअनुसार समितिलाई २१ दिनको समय दिइएको छ ।

कर्मचारीहरूलाई अवकाश वा राजीनामा दिएको दुई वर्षसम्म संवैधानिक तथा कूटनीतिक नियुक्तिमा रोक लगाउने व्यवस्थासहित कुलिङ पिरियड राखिएको थियो । तर प्रतिनिधि सभाबाट निजामती विधेयक पारित गरिँदा यसमा फरकपन देखिएको भन्दै आलोचना भइरहेको छ ।