प्रधानमन्त्री ओली र नाउपा संरक्षक चौधरीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र नाउपा संरक्षक चौधरीबीच भेटवार्ता



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

उनीहरूबीच सोमबार मध्याह्न बालुवाटारमा एक्लाएक्लै करिब एक घन्टा कुराकानी भएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएकाे छ ।

नाउपाले ओली नेतृत्वको संघीय सरकार र लुम्बिनी तथा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

नाउपाबाट संघीय सरकारमा सांसद अरूणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् । पार्टीले सरकारलाई दिएको समर्थन फिर्तासँगै उनले पनि पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

नाउपाका मन्त्री रामेश्वर चौधरीलाई हाते ट्याक्टर वितरणमा अनियमितता गरेको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका थिए । त्यसपछि नाउपाले प्रदेशदेखि संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।