बिराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज’ भनेर सम्बोधन गरिएको विषयमा त्यसलाई सदनको अभिलेखबाट हटाउन माग उठेको छ। राप्रपाका सांसद गोपाल विश्वकर्माले यस्तो सम्बोधन गरेपछि नेकपा एमालेका प्रमुख सचेतक विदुर लिङ्थेपले आपत्ति जनाउँदै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन आग्रह गरेका हुन्।
उनले भने, ‘नेपालको संविधानले श्री ५ भनेर चिन्दैन । उहाँ ज्ञानेन्द्र शाहमात्रै हो । संविधानले नचिन्ने कुरा रेकर्डबाट हटाइ पाऊँ ।’एमालेका प्रमुख सचेतक लिङथेपले रेकर्डबाट हटाउन माग राखे पनि सभामुख अम्बरबहादुर विष्टले बोल्नै नपाउने भन्ने नहुने बताए ।
उनले भने ‘बोल्नै नपाउने भन्ने छैन । संविधानमा छ त्यहीअनुसार हुन्छ । ठिकै छ, माननीयज्यू तपाईँको कुराको ध्यानाकर्षण भएको छ, अब यसलाई बोल्नै नपाउने भन्ने त त्यहाँ छैन क्यारे, उहाँले जे भनेको भए पनि संविधानले जे भन्छ त्यो मात्रै कायम भएर जाने कुरा हो ।’
फेरि प्रतिवाद गर्दै लिङथेपले भन्छन् ‘हामी संविधानभित्रै छौँ, संविधानभित्रै रहूँ भन्ने मेरो आग्रह हो ।’
यसअघि पनि प्रदेशसभा बैठकमा ‘श्री ५ महाराजधिराज’ भन्ने अभिव्यक्तिलाई अभिलेखबाट हटाइएको थियो।


प्रतिक्रिया