राम नेपालमै जन्मिएका हुन् भन्न डराउनुपर्दैन : प्रधानमन्त्री ओली

राम नेपालमै जन्मिएका हुन् भन्न डराउनुपर्दैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान’ श्रीराम नेपालमै जन्मिएकाे जिकिर गरेका छन् । सोमबार काठमाडौंमा नेकपा (एमाले)को पर्यटन विभागले आयोजना गरेको ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उनले यस्तो दाबी दोहोर्‍याएका हुन् ।

प्रधानमन्त्री ओलीले यसअघि पनि पटक–पटक रामको जन्मभूमि चितवनको माडीस्थित ठोरी भएको बताएका थिए । कसैले त्यत्तिकै कथा हालेर रामको जन्मभूमि बदल्न नसक्ने उनको भनाइ छ ।

उनले भने, ‘हामी पर्यटनका कुरा गर्छौं तर नेपालमा राम जन्मिएका, अन्त कसैले भन्नुपर्‍यो नि, त्यत्तिकै कथा हालेर हुन्छ फलानु ठाउँमा जन्मिएको भनेर । राम जन्मिएका नेपालमा हो । नेपालको भूमिमा पर्छ त्यो ठाउँ । उतिबेला पनि नेपालमै थियो भन्दिनँ म । के थियो, के थिएन, थारु गाउँ थियो कि ? के थियो । अहिले त्यो भूभाग नेपालमा पर्छ ।’

राम जन्मभूमि हाल नेपालमा पर्ने र तर्कसंगत हिसाबले पनि अन्यत्र हुन नसक्ने उनले बताए । अरू रिसाउँछन् भनेर रामको जन्मभूमि नेपाल भन्नबाट डराइरहेको अवस्था रहेको उनले उल्लेख गरे ।

‘राम भगवान हुन् भने मान्नु नमान्नु आफ्नो कुरा हो । जसले रामलाई भगवान मान्छ रामको जन्मभूमि पवित्र ठाउँ हो’ उनले भने, ‘यति प्रचार गर्न सक्दैनौं हामी, यति भन्न सक्दैनौं, यति आँट गर्दैनौं । अप्ठेरो लाग्छ । को रिसाउँछ जस्तो लाग्छ ।’

उनले प्रश्न गरे, ‘साँचो बोल्दाखेरि रिसाउँछ जस्तो लाग्छ भने अनि हामीले के गरिखान्छौं ?’

यो आफूले नभई वाल्मीकिकृत रामायणमा लेखिएको उनले बताए । भगवान् शिव, ऋषि विश्वामित्र नेपालकै रहेका उनको भनाइ थियो । ‘शिव यहींका हुन्, विश्वामित्र यहींका हुन् । मैले लेखेको होइन नि रामायण !’