काठमाडौँ । देशको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता मानिएको नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंको तल्लो मुलपानी मैदानमा आयोजना हुने भएको छ।
डीजीआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने प्रतियोगितामा ७ टिम सहभागी हुने छन् र कुल २२ खेल हुनेछन्। सिंगल राउन्ड रोबिन आधारमा सञ्चालन हुने प्रतियोगितामा सबै टिमले एक–आपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष ४ टिम सेमिफाइनलमा पुग्नेछन्।
प्रतियोगिताको ब्रान्ड एम्बेसडर अभिनेता निखिल उप्रेती रहेका छन्। क्रिकेटसँग जोडिएको यस्तो प्रतियोगितामा प्रतिनिधित्व गर्न पाउँदा खुसी लागेको उनले बताए।
आयोजकका अनुसार प्रतियोगितामा सहभागिता जनाउन टिमहरू खरिद प्रक्रियामार्फत चयन गरिनेछ र खेलाडीहरूलाई अक्सन प्रणालीबाट टिमले अनुबन्ध गर्नेछन्।
विजेता टिमले २९ लाख रुपैयाँ, र उपविजेताले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
‘स्ट्रीटदेखि स्टेडियमसम्म’ भन्ने नारासहित आयोजना हुने प्रतियोगिताले स्थानीय तहमा लुकेका प्रतिभाशाली क्रिकेटरलाई राष्ट्रिय स्तरमा चिनाउने अवसर दिन लक्ष्य लिएको छ। आयोजकले ग्रासरुट क्रिकेटलाई बलियो बनाउँदै समावेशी र दीगो संरचना निर्माण गर्ने उद्देश्य पनि राखेको छ।


प्रतिक्रिया