काठमाडौं । काठमाडौंको पुरानो बसपार्कस्थित जग्गामा निर्माणाधीन काठमाडौं भ्यू टावर निर्माणको काम नरोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश प्रकाश खरेलको एकल इजलासले ‘अन्तिम निरुपण हुँदा ठहरिए बमोजिम हुने गरी’ निर्माणको काम जारी राख्न निर्माण व्यवसायीलाई अनुमति दिएको हो ।
काठमाडौं भ्यू टावर सुरुमा भूमिगत २ तल्ला सहित १२ तल्ला निर्माणको अनुमति दिइएको भ्यू टावरमा पछि तला थप गरी भूमिगत २ तलासहित १९ तले भवन निर्माणको अनुमति दिइएको थियो । यही तला थपेको नक्सा पासको विषयमा मुख्य विवाद भएको थियो ।
महानगरबाट तला थप सहित १९ तला निर्माण गर्न नक्सा पास भएपछि महानगर प्रमुख बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईबीच विवाद भएको थियो । नगरप्रमुख शाहले अधिकृत गुरागाईले भ्रष्टाचार गरेर नक्सापास गरेको आरोप लगाएका थिए ।
यससँगै मेयरले अधिकृतलाई कामकाज गर्न रोक लगाएका थिए र निर्माण व्यवसायीलाई पनि निर्माण कार्य रोक्न पत्राचार गरेका थिए ।
निर्माण कम्पनीको रिटमाथि सुनुवाइ गर्दै अदालतले तत्कालको लागि काम नरोक्न अन्तरिम आदेश दिएको हो ।
अदालतले निर्माण कम्पनीले सुरुमा २०७२ भदौ ६ मा पाएको नक्सा पासको स्वीकृति र पछि २०८० माघ २८ मा पाएको तला थप सहित नक्सा पासको स्वीकृति वैधानिक रहेको ठहर गरेको छ ।


प्रतिक्रिया