युवा क्रिकेटर रौनक श्रीवास्तवलाई कपिलवस्तुमा भव्य सम्मान

युवा क्रिकेटर रौनक श्रीवास्तवलाई कपिलवस्तुमा भव्य सम्मान



कपिलवस्तु । नेपाललाई एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जिताउन महत्वपूर्ण योगदान गरेका कपिलवस्तुका युवा क्रिकेटर रौनक श्रीवास्तवलाई भव्य रुपमा सम्मान गरिएको छ ।

कपिलवस्तु क्रिकेट संघको आयोजनामा तौलिहवा बजार हुँदै नगर परिक्रमा गरी उनलाई सम्मान गरिएको हो ।

स्वागत कार्यक्रममा स्थानीय नागरिक, खेलप्रेमी र विद्यार्थीहरु सहभागी थिए । जमुवार पुलबाट शुरू भएको नगर परिक्रमा प्रशासनचौक, आन्दोलनचौक, गौढीचोक, भिक्षुचोक, महिता हुँदै तिलौराकोट होटलमा पुगेर सम्पन्न भयो । हरेक ठाउँमा रौनकलाई फूलमाला लगाएर जयजयकारसहित स्वागत गरिएको थियो ।

मलेसियामा सम्पन्न प्रतियोगितामा रौनकले एक शतक र एक अर्धशतकसहित २९६ रन बनाएर नेपाललाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनलाई प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ पनि घोषणा गरिएको थियो ।

रौनकले घरमै पाएको यस्तो सम्मानले आफूलाई अझ मेहनत गर्न प्रेरणा मिले र आगामी दिनमा नेपालका लागि अझ राम्रो प्रदर्शन गर्ने भन्दै शुभचिन्तक र समर्थकहरूलाई धन्यवाद दिए ।