काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा भएको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको नेपाली टोलीलाई पुरस्कार सम्मान गर्ने भएको छ ।
क्यानले टोलीका खेलाडी र अफिसियलहरुलाई जनही ५० हजारसहित सम्मान गर्ने प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
जुन २० देखि जुलाई ५ सम्म मलेसियामा भएको प्रतियोगिताको फाइनलमा सिंगापुरलाई हराउँदै नेपालले उपाधि जितेको थियो ।
‘मलेसियामा संचालन भएको एसीसी मेन्स यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सहभागी भई प्रथम स्थान हासिल गरी विजयी हुन सफल नेपाली यु-१६ राष्ट्रिय पुरुष क्रिकेट टोलीमा समावेश खेलाडी तथा अफिसियलहरुलाई जनही पचास हजारका दरले हौसला स्वरुप पुरस्कार रकम उपलब्ध गराउने निर्णय भएको व्यहोरा जानकारी गराउन चाहन्छु’ क्यान प्रवक्ता छुम्बी लामाको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालसहित पूर्वी एसियाका भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, मलेसिया, थाइल्यान्ड र सिंगापुर सहभागी उक्त प्रतियोगिता २० जुनदेखि ५ जुलाईसम्म मलेसियामा सम्पन्न भएको थियो ।


प्रतिक्रिया