गाजामा खाना खोज्दै गर्दा ७९८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको भनाइ

गाजामा खाना खोज्दै गर्दा ७९८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको भनाइ



मे महिनादेखि गाजामा खाना खोज्दै गर्दा ७९८ प्यालेस्टिनीहरूको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघले मे महिनादेखि गाजामा इजरायली सेनाद्वारा खाना खोजिरहेका ७९८ प्यालेस्टिनीहरूको हत्या गरेको खुलासा गरेको हो । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालय (ओएचसीएचआचर) ले मे महिनाको अन्त्यदेखि गाजामा खाना प्राप्त गर्ने प्रयास गर्दा कम्तिमा ७९८ प्यालेस्टिनीहरूको मृत्यु भएको जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गाजाको अस्पताल अगाडि पोषणयुक्त खानेकुराका लागि लाइनमा बसिरहेका १५ प्यालेस्टाइनीको इजरायली आक्रमणबाट मृत्यु भएको छ । यसरी मारिने मध्य आठ बच्चा तथा दुई महिला समेत रहेका छन् ।

गाजामा सहयोग गरिरहेको अमेरिकाको परियोजना ‘प्रोजेक्ट होप’ ले यो आक्रमण अन्तर्राष्ट्रिय कानूनको बर्खिलाप रहेको जनाएको छ । इजरायली सेनाले हमासको सैन्य शक्तिमा लक्षित आक्रमण भए पनि सर्वसाधारणको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ ।

हमास र इजरायल युद्ध विरामका लागि वार्ता गरिरहेको भए पनि बिहीबार ६६ जना प्यालेस्टाइनीको इजरायली आक्रमणमा ज्यान गएको छ । अस्पतालको अगाडि कुपोषण, सङ्क्रमण, क्रोनिक रोग तथा अन्य धेरै रोगले प्रभावित लाइन लागेर बसेको समयमा सो आक्रमण भएको हो ।