काठमाडौँ । मधेश प्रदेशसभाको बैठकमा विपक्षी ६ दलले बहिष्कार गरे पनि आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयक पारित गरिएको छ।
बजेटमा बिचौलिया हावी भएको, करिब ८ हजार योजनाहरू संसद छल्दै ल्याइएको आरोप लगाउँदै माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एससहितका दलहरूले अर्थमन्त्री सुनिल यादवको राजीनामा माग गरेका थिए। सोही कारण उनीहरूले संसद बैठक बहिष्कार गरेका हुन्।
विपक्षी दलहरूको अनुपस्थितिमा पनि सभामुख रामचन्द्र मण्डलले बैठक अगाडि बढाएका थिए। बैठकमा अर्थमन्त्री यादवले विनियोजन विधेयकमाथि छलफलको प्रस्ताव राखे, छलफलमा सहभागी मन्त्रीहरूले उठेका प्रश्नहरूको जवाफ दिए। त्यसपछि विधेयक ध्वनी मतमार्फत सर्वसम्मत पारित भएको घोषणा सभामुखले गरे।
सरकारले असार १ गते ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो। विनियोजन विधेयक पारित भएसँगै साउन १ देखि सरकारले बजेट खर्च गर्न सक्ने कानुनी बाटो खुलेको छ।


प्रतिक्रिया