काठमाडौं । डिभिजन वन कार्यालय झापाले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा निःशुल्क वितरण गरेको छ । हात्ती प्रभावित क्षेत्रमा बाली परिवर्तन गराएर क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयवासीलाई कागतीका बिरुवा वितरण गरिएको कार्यालयले जनाएको हो ।
मेचीनगर नगरपालिका–४ का बासिन्दाका लागि वन कार्यालयबाट प्राप्त कागतीका बिरुवा वडा कार्यालयमार्फत तीन सय परिवारलाई वितरण गरिएको छ । हात्तीले सुपारीका बोट भाँचेर ठूलो क्षति पुर्याउन थालेकाले हाल सुपारी बगानभित्र रोप्नका लागि कागतीका बिरुवा बाँडिएको हो ।
कागतीको बोट काँडेदार र फल अमिलो हुने भएकाले हात्तीका लागि अरुचिकर हुन्छ । कागती हुर्किएपछि किसानले फल बिक्री गरेर आम्दानी पाउने र हात्ती नियन्त्रण हुने भएकाले बाहुनडाँगीका बासिन्दा कागती रोप्ने अभियानमा लागेको बताइएको छ । बाहुनडाँगीमा अचेल दिनहुँ हल बाँधेर भारतबाट जङ्गली हात्ती आउने गरेका छन् । हात्तीले सुपारीको फल र पात खाँदैन । तैपनि भाँचेर नष्ट गर्दै आएको किसान गुनासो गर्छन् ।
भारतबाट जङ्गली हात्ती प्रवेश गर्ने पहिलो नाकाका रूपमा बाहुनडाँगी परिचित छ । यहाँ दशकौँदेखि हात्तीसँगको द्वन्द्वका कारण ठूलो जनधनको क्षति हुँदै आएको छ । हात्ती नियन्त्रण र बाली जोगाउनका लागि १० वर्षदेखि सीमावर्ती र जङ्गल छेउमा विद्युतीय घेराबेरा लगाउने कार्य गरिँदै आएको छ । यसका साथै हात्तीले नखाने बालीका रूपमा तोरी र चियाखेती पनि व्यापक मात्रामा हुँदै आएको छ । मौरीसँग हात्ती डराउने भएकाले कतिपय स्थानीयवासीले सुरक्षाका लागि मौरीपालन पनि गर्दै आएका छन् ।


प्रतिक्रिया