काठमाडौं । जमैकाको किङ्स्टनमा सम्पन्न तेस्रो तथा अन्तिम टेस्टमा वेस्ट इन्डिज २७ रनमै समेटिँदा अष्ट्रेलियाले तीन दिनमै खेल समाप्त गर्दै शृङ्खला जितेको छ ।
यो टेस्ट क्रिकेट इतिहासको दोस्रो सबैभन्दा कम रन हो । भने वेस्ट इन्डिजले आफ्नै इतिहासमै बनाएको सबैभन्दा कम रन हो ।
अष्ट्रेलियाका तेज बलर मिचेल स्टार्कले १५ बलमै पाँच विकेट लिँदै टेस्ट इतिहासमै सबैभन्दा छिटो ‘फाइभ–फर’ को कीर्तिमान बनाएका छन । उनले कुल ६ विकेट लिएर आफ्नो १०० औं टेस्टमा उत्कृष्ट प्रदर्शन गरे । यसै खेलमा उनले ४०० विकेटको उपलब्धि पनि हासिल गरेका छन ।
वेस्ट इन्डिजले दुई इनिङ्समा जम्मा १७० रन मात्र जोड्यो, जुन उनीहरूको दुई इनिङ्सको सबैभन्दा थोरै रन थियो । दोस्रो इनिङ्स १४ दशमलव ३ ओभरमै समाप्त भयो, जुन टेस्ट इतिहासको तेस्रो सबैभन्दा छोटो इनिङ्स बनेको छ ।
इनिङ्समा वेस्ट इन्डिजका ७ ब्याट्सम्यान ‘डक’ मा आउट भए यो टेस्ट इतिहासमै पहिलो पटक हो । स्टार्कले पहिलो ओभरमै तीन विकेट लिँदै इरफान पठानपछि त्यो सफलता पाउने दोस्रो बलर बने । वेस्ट इन्डिजको शीर्ष ६ ब्याटरले जम्मा ६ रन मात्रै जोडे जुन टेस्ट इतिहासको सबैभन्दा कम हो ।
अष्ट्रेलियाका स्कट बोलान्डले पनि ह्याट्रिक गर्दै टेस्ट क्रिकेटमा ह्याट्रिक गर्ने १० औं अष्ट्रेलियन बलर बनेका छन । चारवटै इनिङ्स समाप्त हुन जम्मा १०४५ बल फ्याँकिएको यो टेस्ट १९१० यता बलको हिसाबले सबैभन्दा छोटो टेष्टमध्ये एक हो ।
खेलमा कसैले पनि अर्धशतक बनाउन सकेनन् । स्टीभ स्मिथको ४८ रन सवैभन्दा धेरै व्यक्तिगत रन हो । यो टेस्ट क्रिकेटको इतिहासमा आठौं पटक कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन नसकेको खेल हो । वेस्ट इन्डिजका लागि भने यो हार ऐतिहासिक रुपमा लज्जास्पद बनेको छ ।


प्रतिक्रिया