पुटिनलाई ट्रम्पको कडा सन्देश: ५० दिनभित्र युक्रेनसँग शान्ति सम्झौता नगरे १००% कर

पुटिनलाई ट्रम्पको कडा सन्देश: ५० दिनभित्र युक्रेनसँग शान्ति सम्झौता नगरे १००% कर



एजेन्सी।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न रुसमाथि भारी कर लगाउने चेतावनी दिएका छन् । सोमबार नेटो महासचिव मार्क रुटसँगको भेटमा ट्रम्पले रुसले युक्रेनसँगको युद्ध चाँडै रोक्नुपर्ने भन्दै चेतावनीस्वरूप कर लगाउने योजना सार्वजनिक गरे।

उनको भनाइमा, यदि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी ५० दिनभित्र युक्रेनसँग शान्ति सम्झौता नगरेमा रुसमाथि १०० प्रतिशत आयात कर लगाइनेछ। “म व्यापारलाई साधनको रूपमा प्रयोग गर्छु, र यो युद्ध अन्त्य गर्न पनि उपयोगी हुन सक्छ,” ट्रम्पले भने।

भेटका क्रममा ट्रम्पले युक्रेनलाई थप हतियार दिने घोषणा पनि गरे। उनले युरोपेली देशहरूले अमेरिकाबाट हतियार किनेर युक्रेनलाई सहयोग गर्ने योजना रहेको स्पष्ट पारे।

ट्रम्पको भनाइले युक्रेनमाथिको रूसी आक्रमणलाई अन्त्य गर्ने प्रयासमा अमेरिकाको सक्रिय भूमिका झल्काएको छ।