ओखलढुंगा सामुदायिक अस्पताललाई प्रथम सेवा विन्दु बनाउन सांसद खतिवडाको दौडधुप

ओखलढुंगा सामुदायिक अस्पताललाई प्रथम सेवा विन्दु बनाउन सांसद खतिवडाको दौडधुप


ग्लोब नेपाल
2.6k
Shares

काठमाडौं । ओखलढुंगा सामुदायिक अस्पताललाई पनि प्रथम सेवा विन्दु बनाउन ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने सांसद राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पहल गरेका छन् । ओखलढुंगाको मिसन अस्पतालमा उपचारका क्रममा बीमाको रकम उपलब्ध नहुने हुँदा बिरामी तथा सेवाग्राहीहरूले विभिन्न कठिनाइहरू भोग्नु पर्ने भएपछि सांसद खतिवडाले यस्तो पहल गरेका हुन् ।

गत असार ८ गतेबाट ओखलढुंगा सामुदायिक अस्पतालबाट पनि प्रथम सेवा विन्दु हटेको छ । मिसन अस्पतालबाट प्रथम सेवा विन्दु हटेपछि जिल्ला अस्पताल रुम्जाटार वा प्राथमिक स्वास्थ्य केन्द्र रानीबन जानुपर्ने बाध्यात्मक अवस्था छ ।

सांसद खतिवडाले स्वास्थ्य विमा वोर्ड अध्यक्ष चन्द्रबहादुर थापा क्षेत्री र कार्यकारी निर्देशक डा. रघुराज काफ्लेसँग विशेष छलफल गरी ओखलढुंगा सामुदायिक अस्पताललाई पनि प्रथम सेवा विन्दु बनाउन आग्रह गरेका छन् । छलफलमा उनले ओखलढुङगासहित दुर्गम जिल्लाहरूका नागरिकहरूलाई उपचारका क्रममा विमाको रकम छिटो, सरल र प्रभावकारी रूपमा प्राप्त हुने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

सामुदायिक र निजी अस्पताललाई प्रथम सेवा विन्दु नबनाउने निर्णय भए पनि भौगोलिक अवस्थाका कारण सुविधा दिन स्थानीय तहसँग समन्वय गरी सञ्चालन गर्न सकिने भएकाले छलफल गरी अगाडी बढ्ने स्वास्थ्य बिमा बोर्ड अध्यक्ष चन्द्रबहादुर थापा क्षेत्रीले बताए ।

वर्तमान प्रणालीमा देखिएका ढिलासुस्ती, अव्यवस्था र जनतालाई पर्ने अन्य बाधा अवरोधको समाधान खोज्नुपर्ने आवश्यकता औंल्याउँदै, स्थानीय अस्पताल र विमा संस्थाबीच समन्वय सुदृढ पार्नुपर्ने धारणा सांसद खतिवडाले राखेका थिए ।

यस पहलमार्फत स्वास्थ्य विमा प्रणालीलाई जनमैत्री बनाउनेतर्फ सकारात्मक कदम अघि बढ्ने विश्वास गरिएको छ ।