गाजामा सहायता सामग्री वितरण केन्द्रमा भागदौड हुँदा २४ जनाको मृत्यु

गाजामा सहायता सामग्री वितरण केन्द्रमा भागदौड हुँदा २४ जनाको मृत्यु



दक्षिणी गाजामा सहायता सामग्री वितरण केन्द्रमा भागदौड हुँदा २४ जनाको मृत्यु भएको छ । सहायता वितरण केन्द्रमा ठूलो भीड र अव्यवस्थित परिस्थितिका बीच खानेकुरा लिने प्रयास गर्ने क्रममा २० जनाको ज्यान गएको हो । भीडमा किचिएर २३ जनाको मृत्यु भएको हो भने एक जनाको छुरा प्रहारबाट हत्या भएको गाजा मानवीय सहायता केन्द्रले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सहायता केन्द्रलाई अमेरिकी निजी सुरक्षाकर्मीहरूले बन्द गरेपछि त्यहाँ भागदौड मच्चिएको थियो । गाजा मानवीय सहायता केन्द्रले मे महिनाको अन्त्यदेखि सहायता सामग्री वितरणको काम थालेको हो ।

त्यसयता लगभग प्रत्येक दिन सहायता लिन खोज्दा प्यालेस्टिनीहरूको मृत्युको खबरहरू आइरहेका छन् । धेरैजसो मानिसहरूको इजरायली सुरक्षाकर्मीहरूको गोली प्रहारबाट मृत्यु हुने गरेको छ ।

पछिल्लो ६ हप्तामा दक्षिण र मध्य गाजामा रहेका चारवटा सहायता केन्द्र वरिपरि ६७४ जनाको मृत्यु भएको संयुक्त राष्ट्र संघको मानवअधिकार कार्यालयले जनाएको छ ।