काठमाडौं । वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा अस्ट्रेलियाले लगातार चौथो खेल जितेको छ । यस अघि अस्ट्रेलियाले लगातार तीन खेल जित्दै शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ ।
आज बिहान भएको खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई तीन विकेटले हरायो । वेस्ट इन्डिजले दिएको दुई सय छ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर दुई बलमा सात विकेट गुमाएर भेटायो ।
अस्ट्रेलियाका क्यामरुन ग्रिनले अविजित ५५ रन बनाए । यस्तै जोश इङ्गलिसले ५१ र ग्लेन म्याक्सवेलले ४७ रन बनाए । वेस्ट इन्डिजका जेडिया ब्लेड्सले तीन विकेट लिए । यस्तै जेसन होल्डर, रोमारियो शेफर्ड र अकिल होसेनले समान एक विकेट लिए ।
त्यसअघि वन्डर पार्क क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले नौ विकेट गमाएर दुई सय पाँच रन बनाएको थियो । वेस्ट इन्डिजका शेर्फेन रदरफोर्डले ३१ तथा रोभम्यान पावेल र रोमारियो शेफर्डले समान २८ रन बनाए । अस्ट्रेलियका एडम जाम्पाले तीन तथा आरोन हार्डी, जेभियर बार्टले र शन एबटले समान एक विकेट लिए ।
शृङ्खलाअन्तर्गत पाँचौ तथा अन्तिम खेल मङ्गलवार हुनेछ । यस अघि यी दुई देशबीच भएको तीन खेलको टेस्ट शृङ्खलामा पनि अस्ट्रेलियाले क्लीन स्वीप गरेको थियो ।


प्रतिक्रिया