जुम्ला । जुम्लाका किसानलाई काँचो स्याउ टिप्न रोक लगाइएको छ । कृषि विकास कार्यालयले सार्वजनिक सूचनामार्फत भदौ १५ गतेपछि मात्र स्याउ टिप्न सूचित गरेको हो ।
कसैले सूचनाको पालना नगरी काँचो स्याउ टिपेको पाएमा वा बजारमा खरिद गर्ने व्यापारी र किसान दुवैलाई कानूनी कारबाही गरिने कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताए ।
काँचो स्याउ टिप्दा स्वाद, गुणस्तर र बजारमा समेत असर पर्छ । दीर्घकालीन ‘ब्रान्ड’ र बजार मूल्यमा समेत असर पार्ने भएकाले जुम्लाका आठ वटै पालिकाको कृषि शाखा र किसानलाई सार्वजनिक सूचनामार्फत जानकारी गरिएको कार्यालय प्रमुख अधिकारीले बताए ।
त्यसै अनुसार तातोपानी गाउँपालिकाले पनि भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न र निर्यात नगर्न अनुरोध गरेको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए ।
फलफूल विज्ञका अनुसार भदौ दोस्रो हप्तापछि मात्रै स्याउ टिप्नु उपयुक्त मानिन्छ । नपाकेको स्याउ टिप्दा बजारीकरणमा चुनौती हुने गरेको छ । परिपक्व र स्याउको रंग ७० प्रतिशतभन्दा माथि भइसकेपछि मात्रै बिक्री गर्न किसानलाई निर्देशन गरिएको प्रमुख अधिकारीले बताए ।
जुम्लामा १८ हजार घरपरिवारमध्ये १६ हजार घरपरिवारले स्याउखेती गरेको तथ्यांक छ । चार हजारभन्दा धेरै हेक्टरमा स्याउखेती भइरहेको कृषि विकास कार्यालयले जनाएको छ ।


प्रतिक्रिया