काठमाडौं । ललितपुरको गोदावरी क्षेत्रका अधिकांश जार पानीमा फिकल कोलिफर्म भेटिएको भएको छ। नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले संसदमा भनिन्, ‘‘ललितपुर स्वास्थ्य कार्यालयले गरेको पछिल्लो परीक्षणमा ६० प्रतिशत जार पानीमा ढलजन्य फिकल कोलिफर्म पाइएको हो, जुन सरसफाइ र पानीको शुद्धतामाथि गम्भीर प्रश्न उठाउने खालको छ।’
सांसद गौतमले भनिन्, ‘फिकल कोलिफर्म भेटिएको पानीले उपभोक्तालाई सुरक्षित पानीको सट्टा रोगको स्रोत प्रदान गरिरहेको कार्यालयको भनाइ छ। यस्तो दूषित पानी सेवनका कारण झाडापखाला, भाइरल हेपाटाइटिस, र टाइफाइडका बिरामीको संख्या अस्पतालहरूमा तीव्र रूपमा बढेको देखिएको छ। गत वर्ष पनि यस्तै प्रदूषणका कारण हैजा फैलिएको थियो।’
‘मनसुनको मौसम सुरु भइसकेको सन्दर्भमा संक्रमण र महामारीको जोखिम झनै बढेको विज्ञहरूको चेतावनी छ। यसै सन्दर्भमा, जनस्वास्थ्य संकट न्यूनीकरणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसमक्ष माग गरिएको छ’ सांसद गौतमले भनिन्, ‘स्वास्थ्यकर्मीहरूले जार पानी आपूर्ति गर्ने कम्पनीहरूको कडाइका साथ नियमित निरीक्षण, परीक्षणको नतिजा पारदर्शी रूपमा सार्वजनिक गर्ने व्यवस्था, शहरी क्षेत्रमा पानी प्रशोधन प्रणाली सुदृढ पार्ने तथा सुरक्षित खानेपानीका लागि व्यापक जनचेतना अभियान तत्काल सञ्चालन गर्न सरकारलाई सभामुखमार्फत् म आग्रह गर्दछु ।’
यो विषय केवल स्वास्थ्यको मात्र नभई नागरिकको सुरक्षित पानी पाउने संवैधानिक अधिकारसँग समेत जोडिएको भन्दै सांसद गौतमले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएकी छन् ।


प्रतिक्रिया