एमालेलाई लक्ष्य माधवको टिप्पणी: गहभरी आँसु बोकेर कहाँ झार्ने ठाउँ खोज्दै छन्

एमालेलाई लक्ष्य माधवको टिप्पणी: गहभरी आँसु बोकेर कहाँ झार्ने ठाउँ खोज्दै छन्



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्ष्य गर्दै कम्युनिष्ट आन्दोलनमा अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन् ।

शुक्रबार पार्टीको ७ नम्बर क्षेत्रीय कमिटी, काठमाडौंले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

नेकपा (एमाले) लाई लक्ष्य गर्दै उनले त्यहाँ बसिरहेका मान्छे गहभरी आँसु बोकेर कहाँ झार्ने भन्ने ठाउँ खोज्दै हिँडिरहेको टिप्पणी गरे ।

एमालेभित्र रहेका मानिसहरूले भोगिरहेको र आफूहरू समेत तमासा हेरेर बसिरहेको उनको टिप्पणी छ ।

आफूहरूले सुरू गरेको कम्युनिष्ट पार्टीले २०७४ सालमा बहुमत ल्याउँदा समेत संविधान संशोधन र ऐन कानून निर्माणमा तीव्रता दिन नसक्नुको मुख्य दोषी ओली भएको उनको आरोप छ ।

एमाले नेतृत्व पूर्व सहयोगीमाथि बदला लिन उद्दत रहेको भन्दै अध्यक्ष नेपालले अब प्रभु साह र उपेन्द्र यादवको पालो आएको टिप्पणी गरे ।

उनले भने, ‘कम्युनिष्ट पार्टीका कार्यकर्ताको पहिलो काम समाज बदल्ने हो । त्यही हो अनेकौं जटिलताले भरिएको समाज। यो समाजमा रहेका जटिलतालाई बुझ्नुपर्छ । समस्यालाई बुझेर समाधान गर्ने आँट गर्नुपर्छ । त्यसपछि सफलता हासिल हुन्छ । जुन पार्टीबाट हामीले सुरू गरेको हो त्यही पार्टीले इतिहासमा एक पटक मात्रै मौका पायो । २०७४ सालको चुनावमा बहुमत ल्यायो। माओवादीले साथ दिने बित्तिकै दुई तिहाइ बहुमत ल्यायो । त्योभन्दा राम्रो अवसर अरू के हुन्थ्यो? संविधान संशोधन गर्न सक्थ्यो, जस्तोसुकै कानून बनाउन सक्थ्यो । तर त्यो भएन । कम्युनिष्ट आन्दोलनमा अहिले देखा परेको अत्यन्तै खतरनाक अधिनायकवादी प्रवृत्तिले कस्तो कस्तो समस्या खडा गरेको छ । यो विषयमा धेरै बताइरहनु पर्दैन । जम्मै प्रमाण साक्षी छ भने तथ्य नै प्रष्ट छ । त्यहाँ बसिरहेका मान्छे गहभरी आँसु बोकेर कहाँ आँसु झारौँ भनेर ठाउँ खोज्दै हिँडिरहेका छन् ।’

उनले अघि भने, ‘दिनदिनै त्यहाँ भएका मान्छेहरूले भोगिरहेका छन् भने हामी पनि टाढा बसेर तमासा हेरेर बसिरहेका छौं । कहिले बाको गीत गाइरहेको सुन्छु । कहिले म झोले हुँ भन्ने गीत चलिरहेको देखिन्छ । त कहिले खबरदार भनिरहेको सुन्छौं । अब बदला सुरू भएको छ उपेन्द्र यादव, प्रभु साहमाथि । अब बद्ला सुरू हुनेछ प्रचण्डमाथि। कोही बाँकी बच्नेवाला छैनन् ।’

उनले कम्युनिष्ट पार्टीका कार्यकर्ताको पहिलो काम समाज बदल्ने रहेको उल्लेख गर्दै त्यसका लागि अग्रसर हुन पार्टी कार्यकर्तालाई आग्रह गरे ।