शासनको बागडोर जंगी अड्डाको हातमा सुम्पिइएको छ । जंगी अड्डाले जेनजीको समूह वरिपरी राखेर प्रधानमन्त्री रोज्न अन्तर्वार्ता लिइरहेको छ । जंगी अड्डाबाट अन्तर्वार्ता दिएर फर्किएका दुर्गा प्रसाईंका अनुसार जेनजीलाई समूह बनाएर राखिएको छ, उनीहरु पालैपालो अन्तर्वार्ता दिन भित्री कोठामा प्रवेश गर्छन् ।
अन्तर्वार्तामा तस्बिर देखाएर को प्रधानमन्त्री बन्दा ठीक हुन्छ प्रश्न गरिन्छ । तस्बिर देखाएर फलानो मन्त्री बन्दा ठीक हुन्छ भनियो भने, किन भन्ने प्रश्न गरिन्छ । छोटकरीमा भन्न लगाइन्छ, उत्तर दिएपछि बाहिर जानुस भनेर पठाइन्छ । त्यहाँ आन्तरिम प्रधानमन्त्री खोज्ने सामूहिक छलफल गर्ने वातावरण छैन ।
कहाँ छन राष्ट्रपति ?
राष्ट्रपति रामचन्द्र पौडेलको हस्ताक्षरसहितको शंकास्पद विज्ञप्ति बिहीबार अपरान्ह सार्वजनिक भएको छ । संविधानको दायराभित्र रहेर समस्याको समाधान खोज्ने प्रयास भइरहेको छ भनी विज्ञप्तिमा उल्लेख गरिएको छ । यो राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति होइन, भन्ने केही आधारहरु छन् । विज्ञप्तिमा राष्ट्रपतिको हस्ताक्षर छ, कार्यालयका कर्मचारीको होइन । राष्ट्रपति कार्यालयको लेटरप्याड नै शंकाको घेरामा छ ।
राजनीतिक दलका नेताहरुको अभिव्यक्ति सार्वजनिक हुन थालेपछि राष्ट्रपति आफैले हस्ताक्षर गरेको विज्ञप्ति सार्वजनिक भएको हो । राष्ट्रपति कहाँ र कुन अवस्थामा छन् भन्ने कुरा अज्ञात छ । यति मात्र होइन, प्रधानमन्त्री, मन्त्रीलगायत राजनीतिक दलका केही शीर्ष नेताहरुलाई समेत सार्वजनिक भएका छैन । यसले सर्वसाधारणमा थप शंका उब्जिएको छ भने अन्तर्राष्ट्रिय जगतसमेत संशकित बनेका छन् ।
पहिला संविधान च्यातिने
यो संविधानबाट अन्तरिम सरकारको गठन सम्भव नभएको प्रचार बाहिर ल्याइँदैछ । राजतन्त्र फर्काउन पाखुरा सुर्केकाहरु यो कर्ममा लागेका छन् । गणतान्त्रिक संविधान च्यातेर राजालाई गद्दीमा फर्काउन लागेकाहरु यो संविधानबाट अन्तरिम सरकार बन्न नसक्ने ब्याख्या गरिरहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको एउटा समूह यो संविधान च्यातेर राष्ट्रपति फ्याक्न सेनासँग लबिइङमा लागेको छ । राप्रपा नेपालका महामन्त्री राजाराम श्रेष्ठले राष्ट्रपति र संसद रहेसम्म संघीय गणतन्त्रात्मक संविधान कायम रहेको मानिने छ, त्यसैले आन्तरिम सरकार गठनमा बाधा पुग्ने बताए । यही राष्ट्रपतिबाट संसद विघटन भएको घोषणा गराउने प्रयासमा नेपाली सेना लागेको बुझिन्छ । संसद विघटन भएपछि राष्ट्रपतिलाई मिल्काउने उनीहरुको योजना भएको बताइएको छ । त्यसैले दशैं अघि नै संसद विघटन र राष्ट्रपति हटेर राजा गद्दीमा फर्किने राजावादीका प्रवक्ता स्वागत नेपालले बताएका छन् ।
नेतृत्व खोज्ने कि रोज्ने ?
जंगी अड्डाले सत्ता हातमा लिएपछि नेतृत्व लिन पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, दुर्गा प्रसाईलगायतलाई अगाडि सारिएको छ । सेनाले यिनै नाम देखाएर जेनजी समूहलाई विभाजन गरेको छ ।
जेनजी समूह यतिबेला आफूले भनेको ब्यक्तिले देशको नेतृत्व गर्न पाउनुपर्छ भनेर बादविवादमा उत्रेका छन् । उनीहरु बीच बादविवाद र छलफल मात्र भएको छैन, आन्तरिम सरकारको प्रमुख कसलाई बनाउने भन्ने विषयमा एकअर्काको सिफारिस अस्वीकार गर्दै युवाहरुबीच हानाहान सुरु गरेका छन् । यसले कुन रुप लिन्छ, अहिले नै भन्न सकिने अवस्था छैन ।
नेतृत्व मात्र होइन, मन्त्रालयसमेत बाँडफाँड गरेको सामाजिक सञ्जालमा देख्न पाइन्छ । फलानो गृहमन्त्रालय हाँक्न योग्य छ भनेर प्रचार गरिन्छ ।
एक साता अलमल्याइने
झन्डै एक सातापछि नेपालीहरुको महान चाँड बडा दशैं भित्रिदैछ । त्यसपछि चाड मान्न राजधानी छोडेर गाउँ जानेको संख्या ह्वात्तै बढ््ने छ । त्यसपछि राजधानीमा आक्रोसको आगो केही शान्त हुनेछ । सत्ताको बागडोर सम्हालेको नेपाली सेनालाई आफ्नो उद्देश्य पूरा गर्न सहज हुनेछ ।
त्रिभुवन विश्वविद्यालयले कार्तिक ११ गतेसम्म विदा घोषणा गरिसकेको छ । औपचारिक सार्वजनिक विदा असोज १३ गतेदेखि भए पनि असोज ३, ४ र ६ गते पनि विदा भएको र दैनिक असज परिस्थिति सिर्जना भएकाले सर्वसाधारण असोज १ गतेबाटै घर फर्किन अनुमान गरिएको छ । यी सबै कुरा मूल्यांकन गरेर योजना बनाइएको स्पष्ट हुन्छ ।
राष्ट्रपति र प्रधानमन्त्री कार्यालयमा साइवर आक्रमण
राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भौतिक आक्रमणसँगै साइवर हमला भएको छ । राष्ट्रपति कार्यालयको वेभसाइटलाई नै बन्द गरिएको छ भने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको वेभसाइट पनि बन्द छन् । प्राविधिकहरुले सरकारका यी साइटहरुमा सर्भर समस्या या ह्याक भएको हुनसक्ने बताएका छन् । तर आन्दोनलपछि प्रशासनिक संयन्त्र रिक्त हुँदा कसले बनाउने र चासो दिने भन्ने समस्या देखिएको छ ।


प्रतिक्रिया