प्रधानमन्त्री कार्कीको पदभार ग्रहण

प्रधानमन्त्री कार्कीको पदभार ग्रहण



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहणपछि उनले सम्बोधन समेत गरेकी थिइन् । ६ महिनामा प्रतिनिधि सभा निर्वाचन गर्नेगरी कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने बताएकी छन् ।

पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।

‘मान्छेले ज्यान मार्छ, भवनहरु लुट्ला, भत्काउला बेग्लै कुरा हो । तर यो घटना त मलाई लाग्छ यो देशमा पहिलो चोटी भएको हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यस किसिमले हाम्रा संस्थाहरु, यस्तो अनुहार देखाउन नसक्ने अवस्थामा पुर्‍याएको छ । मलाई त जहाँसम्म लाग्छ, यो एउटा प्लान वेमा, षडयन्त्रै भएको हो कि भन्ने लाग्छ ।’

उनले यसबारे अनुसन्धान हुने र कारबाही हुने बताइन् ।

‘अनुसन्धान हुन बाँकी छ । र अनुसन्धान गरेर यसरी प्रहार गर्नेहरुलाई यसरी नोक्सान गर्नेहरुलाई अपरिहार्य वस्तु, अत्यन्त आवश्यक वस्तु माटोमेट बनाएको छ, त्यसलाई छोड्नुपर्ने अवस्था छैन । यो कारबाही हुनुपर्ने अवस्था छ । यसको खोजबिन तलास हुनुपर्ने अवस्था छ,’ उनले भनिन् ।