काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार निर्धारित मितिमै चुनाव गराउने दिशामा अघि बढ्नुपर्ने बताएका छन् ।
ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयको अनुगमन गर्दै उनले भने, ‘यो सरकार अन्तरिम भएकाले उसको कर्तव्य चुनाव गराउने हो । शान्ति सुरक्षाको वातावरण तयार गरिकन समयमा निर्वाचन गराउने कुरामा यो सरकार ध्यान जानेछ । नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर, जनताको अभिमत प्राप्त गर्ने कुरामा प्रवेश गर्नुपर्छ ।’
सधैँभरि सडक जनमत प्राप्त गर्ने माध्यम हुन नसक्ने उनले बताए ।
‘सडक जनमत प्राप्त गर्ने माध्यम हुनु पनि हुँदैन । एउटा युगले ल्याएको परिवर्तनलाई संविधानमा संश्लेषण गरिसकेपछि परिवर्तनको आधार संविधानलाई बनाएनौं भने मुलुक कहिले पनि समृद्धि र विकासको यात्रामा अघि बढ्न सक्दैन । समाधान सधैँ सडकबाट खोज्ने हो भने स्थायित्व र विकास सम्भव हुँदैन,’ उनले भने ।
कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने बताएको छ ।
महासचिव पोखरेलले आफ्नो पार्टी युवाहरूको आकांक्षा पूरा गर्नका लागि अघि बढ्ने क्रममा हुँदाहुँदै पनि गत २३ र २४ भदौमा जेनजीहरूको प्रदर्शन भएको टिप्पणी गरेका छन् ।
भदौ २०, २१ र २२ गते आयोजित पार्टीको विधान महाधिवेशनमा पनि युवाहरूको आकांक्षा सम्बोधन गर्नेगरी विविध छलफल भएको र त्यही अनुसार अघि बढ्न खोजिएको समेत उनले बताएका छन् ।
‘मलाई लाग्छ युवाहरूले धैर्यता गरेको भए नेकपा एमाले नै उहाँहरूको आकांक्षा पूरा गर्ने पार्टीका रुपमा अगाडि आउँदै थियो,’ उनले भने, ‘हामीले त्यस प्रकारका संकल्प र योजना अघि सारेका थियौं । बिडम्बना भन्नुपर्छ, हामीले त्यस प्रकारका योजना र संकल्प वयवहारमा लागू गर्न पाएनौं ।’
यही भदौ २४ गते ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा एमाले पार्टी कार्यालयमा तोडफाड र आगजनी भएको थियो । आगजनी र तोडफोडबाट पार्टी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ ।


प्रतिक्रिया