आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ : बाबुराम भट्टराई

आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ : बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् । बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताएका हुन् ।

उनले लोकतन्त्रको खम्बालाई कति पनि कमजोर पार्नु नहुने बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले तोकिएकै मितिमा निर्वाचन गराउन राजनीतिक दलहरूले भूमिका खेल्नुपर्ने बताए ।

पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई पुनःसंरचना गर्नेमा आशंका रहेको बताए । पुराना पार्टीहरूमा अझै पनि पुराना नेताहरूकै उकुसमुकुस रहेको बताए।

आगामी दिनमा एउटा बृहत् खालको राजनीतिक पुनः संरचना हुनुपर्ने जरूरी देखिएको उल्लेख गरे । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष समेत रहेका भट्टराईले २८ वर्षभन्दा मुनिका युवाहरूले दबाब बनाइरहे राजनीतिक पुनः संरचना सम्भव रहेको पनि जिकिर गरे ।

उनले भने, ‘बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी स्वतन्त्र र निष्पक्ष ढंगले गराउने मुख्य आधार हो । लोकतन्त्रको खम्बालाई हामीले कति पनि कमजोर पार्न दिनु हुँदैन । निश्चित मितिमै चुनाव गर्नुपर्छ । त्यसको निम्ति दलहरू चाहिन्छन् । पुराना दलहरू कांग्रेस, एमाले, माओवादी, राप्रपाको पुराना दलहरूको पुनः संरचना हुन्छ जस्तो मलाई लाग्दैन । त्यहाँ जसरी आवाज उठिरहेको छ, चौथो नाति पुस्ता आइसक्यो । त्यहाँका नेताहरूको जुन उकुसमुकुस छ । मेरो अनुमान आगामी दिनमा एउटा बृहत खालको राजनीतिक पुनः संरचना हुन्छ । त्यसो हुनसक्यो । जेनजी भन्ने २८ वर्षभन्दा मुनिका युवाहरूले दबाब बनाइरहे राजनीतिक पुनः संरचना सम्भव छ । कहिलेकाहीँ भुइँको टिप्छुभन्दा पोल्टाको पनि खस्छ, त्यसमा मैले सतर्क गराउँदै आएको पनि छु ।’

अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ । तर प्रमुख राजनीतिक दलहरूले भने प्रतिनिधि सभा विघटन गलत भएको बताउँदै आएका छन् ।