संविधान बाहिर गए झन् अस्थिरता निम्तन सक्छ : देउवा

संविधान बाहिर गए झन् अस्थिरता निम्तन सक्छ : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानबाटै वर्तमान राजनीतिक परिस्थितिको निकास खोज्न सकिने बताएका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले संविधान मुलुकको सर्वोच्च कानुन भएकाले कुनै पनि विशेष परिस्थितीमा उत्पन्न राजनीतिक ‍जटिलताको समाधान दिने बताएका हुन् ।

‘मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि यही संविधानभित्र खोज्न सकिन्छ भन्ने हाम्रो विश्वास कायमै छ,’ उनले भनेका छन् ।

संविधानबाहिर गए मुलुक अझै अस्थिरतातर्फ धकेलिने देउवाले बताएका छन् । ‘राजनैतिक स्थिरताको खोजीमा संविधान बाहिर जाँदा झन्झन् अस्थिरता निम्तिने सम्भावना रहन्छ ,’ उनले भनेका छन् ।

उनले असोज ३ र संविधान नेपाली जनताले पटक–पटक गरेको क्रान्ति, संघर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि रहेको बताए ।