संविधान रक्षा गर्न राष्ट्रपति दह्रोसँग उभिनुभयो, धन्यवाद छ : प्रचण्ड

संविधान रक्षा गर्न राष्ट्रपति दह्रोसँग उभिनुभयो, धन्यवाद छ : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निकै अप्ठ्यारो स्थितिमा पनि संविधान रक्षाका लागि दह्रोसँग उभिएकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिएका छन् ।

संविधान दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि राष्ट्रपति र प्रधान सेनापति अशोकराज सिग्देलले खेलेको भूमिकाको प्रशंसा गरे ।

‘राष्ट्रपतिजी निकै अप्ठ्यारो स्थितिमा संविधान रक्षामा दह्रो रूपमा उभिनुभएकै हो, उहाँ त्यसरी नउभिएको भए आज जे स्थिति छ, सायद त्यो हुँदैनथ्यो,’ उनले भने, ‘उहाँलाई धन्यवाद छ ।’

‘मैले संसद विघटन मात्रै होइन, संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन केकस्ता कसरतहरू भए भन्ने कुरा नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ,’ प्रचण्डले भने ।

संविधान र राष्ट्रपति संस्था बचाउन आफूले पनि सहजीकरण गरेको प्रचण्डको भनाइ छ । ‘यो संविधान र राष्ट्रपति संस्था तथा अहिलेका राष्ट्रपतिसँग हामी माओवादीको पनि निकै ठूलो योगदान रहेको छ, त्यसैले हामीलाई त्यो भन्ने अधिकार थियो र छ,’ उनले भने।

साथै उनले प्रत्यक्ष देखेको र भोगेको कारण भन्दै प्रधान सेनापति अशोकराज सिग्देलको भूमिकाको पनि प्रशंसा गरेका थिए ।

प्रधान सेनापतिले राजनीतिक रूपले निकास निस्किएन भने देश भयानक अवस्थामा जान्छ सक्छ भनेर सहजीकरणको कोसिस गरेको उनको भनाइ छ । ‘मेरो दृष्टिमा उहाँ पनि धन्यवादको पात्र हुनुहुन्छ,’ उनले भने ।