काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको गर्धनभन्दा माथि टाउकोमा १२ टाँका लगाएको जनाएको छ ।
शुक्रबार कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अहिले सभापति देउवा दम्पतीको स्वास्थ्यमा सुधार भइरहेको बताए ।
उनले भने, ‘हामी सुरुमा अतालिएका थियौं । तर उहाँहरूको स्वास्थ्य उपचार राम्रो हुँदै गयो । अहिले सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ । उहाँहरूको स्वास्थ्यमा सुधार आइरहेको छ । उहाँ (देउवा) को गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको छ । त्यहाँ १२ वटा टाँका लगाइएको छ । गर्धनमा सामान्य चोट छ । टाँका लगाएको ठाउँ र त्यो चोट निको हुँदै गएको छ ।’
उनले अहिले सभापति देउवा सामान्य बोलचाल, हिँडडुल र पार्टीका नेताहरूसँग संवाद गर्नसक्ने भएको बताए ।
उनले भने, ‘अहिले अस्पतालमै राखेर उपचार गर्ने कुरा छ । बाहिर गएपछि भिडभाड हुन्छ, त्यसले छिटो स्वास्थ्य लाभ गर्न असहयोग गर्छ । त्यसो भएकाले केही दिन हेरौँ भन्नुभएको छ ।’
भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा बूढानीलकण्ठस्थित घरमै रहेका देउवा दम्पतीमाथि प्रदर्शनकारीले आक्रमण गरी घाइते बनाएका थिए । केही समयपछि नेपाली सेनाले उद्धार गरी उनीहरूलाई शिवपुरी लगेर उपचारको व्यवस्था गरेको थियो ।
देउवा पत्नी आरजु राणा देउवाको पनि स्वास्थ्यमा सुधार आएको उनले बताए । घाउको प्रकृति हेर्दा उनीहरूमाथि सिसा, रड वा धारिलो हतियार प्रहार भएको हुन सक्ने अनुमान छ ।
प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार सैनिक अस्पतालमा देउवा दम्पतीको उपचार भइरहेको छ ।


प्रतिक्रिया