काठमाडौं । नेपाली कांग्रेसका पूर्वपदाधिकारी ५ नेता पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा छलफलमा छन् ।
पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू सिंह, कृष्णप्रसाद सिटौला र डा शशाङ्क कोइराला तथा पूर्वसहमहामन्त्री एवं अहिलेका पार्टी प्रवक्ता डा प्रकाशशरण महतले छलफल गरिरहेका हुन् ।
उनीहरूबिच पार्टीको आगामी १५ औँ महाधिवेशनमा कसरी अगाडि बढ्ने, शुक्रबारको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उठाएको विशेष महाधिवेशन र नेतृत्व परिवर्तनको विषयमा धारणा बनाउने विषयमा कुराकानी भइरहेको छ ।
कांग्रेसका सात पूर्व पदाधिकारीले छलफल गरिरहेकामा पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार भने आइतबारको छलफलमा सहभागी छैनन् । उनीहरूले निरन्तर छलफल गरिरहेका छन् । उनीहरू सबै सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।
आजै बिहान पत्रकार सम्मेलन गरी प्रवक्ता महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पछिल्ला अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए ।
उनले सभापति देउवा भदौ २४ गते घरमै प्रदर्शनकारीको आक्रमणबाट घाइते भएर अस्पतालमा उपचार गराइरहेको बेला घाउमा चुनचुक छर्ने काम गर्न नहुने बताएका थिए ।


प्रतिक्रिया