काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी नेतृत्वबाट बिदा लिनु उपयुक्त हुने बताएका छन् ।
प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा बिहीबार आफ्नो धारणा राख्दै उनले तत्कालका लागि दोस्रो पुस्ताको नेतामध्ये कसैलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिई प्रक्रिया सुरु गर्न सकिने बताए ।
उनले भने, ’अध्यक्ष कमरेडले कार्यकारी नेतृत्वबाट बिदा लिनु उपयुक्त हुन्छ ।’ श्रेष्ठले प्रचण्डको योगदान र ऐतिहासिक भूमिकालाई उच्च सम्मान गर्दै उनलाई वैचारिक–निर्देशनात्मक र अभिभावकीय भूमिकामा स्थापित गरिनुपर्ने बताए ।
यस्तो कदमले पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिने, जनतामा सकारात्मक प्रभाव पार्ने र नेपाली राजनीतिमा प्रचण्डको ऐतिहासिक नेतृत्वलाई दीर्घकालीन रूपमा स्थापित गर्ने उनको तर्क थियो ।
यसैगरी उनले जेनजी आन्दोलनले देखाएको सन्देश र जनअपेक्षालाई सम्बोधन गर्न पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिन अपरिहार्य भएको बताए ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्डको प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको बताए । ‘मंसिरमा विशेष महाधिवेशन सम्भव छैन । निर्वाचन पछि महाधिवेशन गर्नुपर्छ,’ श्रेष्ठले भनेका छन् ।
अध्यक्ष प्रचण्डको प्रस्तावमा उपमहासचिव जनार्दन शर्माले पनि असहमति राखेका छन् ।
सुरुमा बोलेका अध्यक्ष प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । विशेष महाधिवेशनमाजाने भएपछि पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव प्रस्तुत गरेका थिए ।
त्यसमा असहमति जनाउँदै उपमहासचिव शर्माले नयाँ प्रस्ताव राखेका छन् । आफ्नो असहमति रहेको भन्दै उनले नयाँ प्रस्ताव राखेका हुन् । उपमहासचिव शर्माले भनेका छन्, ‘सबै पदाधिकारी राजीनामा दिएर निर्देशक समितिमा बसेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गरौं ।’


प्रतिक्रिया