देउवा दम्पतीसहित निवर्तमान ऊर्जामन्त्री खड्काकाे सम्पत्तिमाथि अनुसन्धान शुरू

देउवा दम्पतीसहित निवर्तमान ऊर्जामन्त्री खड्काकाे सम्पत्तिमाथि अनुसन्धान शुरू



काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काम शुरू गरेको छ ।

गएको भदौ २३ र २४ गते देशभरि भएका घटनाबारे छानबिन गर्न सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गठन गरेको आयोगले आजदेखि काम थालेको हो ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई काम थालेका मितिले तीन महिनाभित्र रायसहितको प्रतिवेदन पेश गर्ने समय दिइएको छ । आयोगलाई आन्दोलनकारीको ज्यान जाने गरी गोली चलाउने काम कानून अनुरूप भए/नभएको जाँच्ने र जिम्मेवार भूमिकामा रहेकाको गल्ती पाइए कारबाहीका निम्ति सिफारिश गर्नेसम्मको कार्यादेश छ ।

यसैबीच सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित निवर्तमान सरकारका दुई जना मन्त्रीहरूको सम्पत्तिमाथि अनुसन्धान शुरू गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही प्रमाणहरू सङ्कलन गरी परीक्षणका लागि नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको हो ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी एवम् निवर्तमान सरकारको परराष्ट्रमन्त्री आरजु राणा देउवा र ऊर्जामन्त्री दीपक खड्काको सम्पत्तिबारे केही प्रमाण सङ्कलन गरेर परीक्षणका लागि पठाइएको हो । जेन–जी आन्दोलनका क्रममा उनीहरूको घरमा तोडफोड र आगजनी हुँदा पैसा भेटिएको चर्चा थियो ।

आयोगलाई दिइएको कार्यादेशमा जेन–जी प्रदर्शनका क्रममा देशका विभिन्न भागमा भएका भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न र घटना हुनुका कारणका सम्बन्धमा जाँचबुझ गरी त्यसकाे यकिन राय–सुझावसहितको प्रतिवेदन पेश गर्न भनिएको छ ।

जेन–जी आन्दोलनका क्रममा भएका विभिन्न घटनामा ज्यान गुमाउनकाे सङ्ख्या ७४ जना पुगेको छ ।