हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश भागिँदैन : ओली

हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश भागिँदैन : ओली

गुण्डुस्थित निवासमै बोलाए एमाले सचिवालय बैठक



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारलाई देश जिम्मा लगाएर आफूहरू विदेश नभाग्ने बताएका छन् ।

भक्तपुरको गुण्डुमा युवा सङ्घले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले नेताहरुको पासपोर्ट रोक्का गर्न लागेको भन्ने विषयमा टिप्पणी गर्दै देश छाडेर नभाग्ने बताएका हुन् ।

हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर आफूहरु विदेश नभाग्ने उनको टिप्पणी छ । उनले देशलाई फेरि संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउने दाबी गरे । उनले सुरक्षाको प्रत्याभूति दिलाउनु सरकारको कर्तव्य रहेको पनि बताए ।

पूर्वप्रधानमन्त्री ओलीले हालैको हिंसात्मक घटनाबारे सत्यतथ्य छानबिनको माग समेत गरेका छन् ।

ओलीले गोलीकाण्ड र त्यसपछिको घटनाक्रमबारे व्यक्त गरिएका चिन्ता र सरकारप्रति उठेका प्रश्नका सबालमा समेत प्रस्ट पारेका छन् । उनले भने, ‘ सुरुमा गोली कसरी चलेको हो भनी मैले स्वयं सोधखोज गरेको छु, पछि थाहा पाएँ १४ जनाको मृत्यु भएको छ । टाउकोमा गोली लागेको भन्ने जानकारी पनि आएको छ । यो कसरी भयो चिन्ता व्यक्त गरेको छु, त्यसबारेमा बुझ्न लगाएको छु ।’

उनले अगाडि भने, ‘म यो घटनापछि अत्यन्त दुःखी छु र ‘यो कसरी भयो’ भनी छानबिन गर्न पनि भनेको थिए ।’ अध्यक्ष ओलीले घटनाको सत्य तथ्य पत्ता लगाउन छुट्टै आयोग निर्माण गर्न पनि आफूले भनेको बताए । तर भोलिपल्ट आफ्नो हातमा केही नरहेको थाहा पाएर राजीनामा दिएको समेत उनले बताए ।

अध्यक्ष ओलीले आफूमाथि केही व्यक्तिले विभिन्न आरोप लगाएको टिप्पणी गर्दै जेनजी पुस्ताले उठाएको सुशासन र भ्रष्टाचारको विषयलाई गम्भीरतापूर्वक लिएको बताए । उनले त्यसको समाधान गर्नतिर लागेको तर त्यो दिन गर्न नपाएको भन्दै चिन्ता जाहेर गरे ।

उनले समाजमा हतियारको स्थिति अन्त गर्न र शान्तिको सुनिश्चित गर्न पनि जोड दिए । उनले भने– ‘प्रहरीको हातबाट हतियार जसले खोसेको हो त्यसले तत्काल फिर्ता गरी दिनुपर्छ, ताकि समाजमा थिति बसोस् ।’

गुण्डुस्थित निवासमै बोलाए एमाले सचिवालय बैठक

यसैबीच अध्यक्ष ओलीले पार्टीको सचिवालय बैठक बोलाएका छन् । भोलि (आइतबार) दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान गरिएको हो ।

पार्टी अध्यक्ष ओलीले भाडामा प्रयोग गर्दै आएको भक्तपुरको गुण्डुस्थित निवासमा बैठक बोलाइएको जनाइएको छ । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

गत २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा पार्टी कार्यालय आगजनी र तोडफोड भएको थियो ।

अध्यक्ष ओलीको बालकोटस्थित निवासमा आगजनी भएपछि अहिले गुण्डुमा बस्दै आएका छन् ।