काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू हेपिन तयार रहे पनि देशलाई कसैले हेप्न नपाउने बताएका छन् ।
बिहीबार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘म आफू हेपिन तयार हुन सक्छु, तर मेरो देशलाई हेप्न पाइँदैन, मेरो देश हेपेको सहँदैन ।’
अहिलेको सरकार संविधान, संसद् र लोकतन्त्रमाथि आक्रमण गर्दै उल्टो बाटोमा हिँडिरहेको आरोप लगाए । उनले भने, ‘यदि समयमा हामीले दृढतापूर्वक उपयुक्त कदम चाल्न सकेनौँ भने पछि ढिलो भएछ भनेर पछुतो मान्नु मात्रै हुनेछ । अब नेपाली जनता आन्दोलनको आँधी–तुफान सिर्जना गरेर अगाडि बढ्नुपर्छ ।’
उनले संविधान मिच्ने र संसद् विघटन गर्ने प्रयास कुनै हालतमा सह्य नहुने भन्दै उनले लोकतान्त्रिक शक्तिहरूलाई एक ठाउँ भएर संविधान र लोकतन्त्रको पुनर्बहालीका लागि अघि बढ्न आह्वान गरे ।
उनले विदेशी कम्पनीहरूले नेपालको सार्वभौमिकता र कानुनको सम्मान गर्नुपर्ने बताए । उनले भने, ‘यो देश सार्वभौम सत्ता सम्पन्न राष्ट्र हो । कसैले पनि हाम्रो संविधान, हाम्रो कानुन र हाम्रो स्वाभिमान हेप्न पाइँदैन ।’
अध्यक्ष ओलीले विघटित संसद् पुनर्स्थापनाको माग राखेर अगाडि बढ्ने बताए । उनले संसद् पुनर्स्थापनाको विकल्प नभएको बताएका हुन् ।
‘देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् तत्काल फिर्ता गर्ने मागलाई अगाडि राखेर नै अगाडि बढ्ने बाहेक अर्को विकल्प छैन । मैले विश्वास लिएको छु, नेपाली कांग्रेसले पनि यही बाटोमा आफूलाई अगाडि बढाउने छ । नेकपा एमाले यही बाटोमा अगाडि बढ्ने छ । अरू पार्टीहरू पनि यही बाटोमा अगाडि बढ्ने छन्’, उनले भने ।
ओलीले जेनजी विद्रोहलाई भुईँफुट्टा तत्त्व निकालेर शासनका कुरा गरेको भन्दै आपत्ति जनाए । साथै देशलाई संवैधानिक प्रणालीमा ल्याउन अर्को बाटो नभएको उनले जिकिर गरे ।


प्रतिक्रिया