काठमाडौं । नेपाली कांग्रेसले चुनावको वातावरण बन्नुपर्नेमा जोड दिएको छ । भयरहित वातावरण बने ताजा जनादेशमा जान आपत्ति नहुने कांग्रेसको भनाइ छ ।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा सहभागी विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सर्वोच्च अदालतमा रिट पुगिसकेको जानकारी आएको बताउँदै सर्वोच्चको व्याख्या र आदेशलाई मान्दै सरकारले घोषणा गरेको निर्वाचनको तयारी पनि थाल्ने बताए ।
‘आठ दलका प्रमुख सचेतकले संसद् विघटन असंवैधानिक भनिसकेका छौँ । पार्टीको दसैंअघि बसेको कार्यसम्पादन समिति बैठकले असंवैधानिक भनिसकेको छ तर कांग्रेस लोकतान्त्रिक पार्टी हो, त्यसैले निर्वाचनबाट भाग्दैन । सर्वोच्चको फैसला सम्मान गर्छ,’ घिमिरेले भने ।
सर्वोच्च अदालतले पुनर्स्थापना गर्ने निर्णय गरे पनि सम्मान गर्ने घिमिरेको भनाइ थियो । घिमिरेले भने, ‘शान्ति सुरक्षा र चुनावको वातावरण बन्छ भने फ्रेस म्यान्डेडमा जान आपत्ति छैन । भयरहित चुनाव हुन्छ भने कांग्रेस भाग्दैन ।’
प्रमुख सचेतक घिमिरेले जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थितिको निकास संसद पुनर्स्थापना वा चुनाव नै भएको उनले बताए ।
जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
यो प्रक्रिया असंवैधानिक भएको कांग्रेसको धारणा छ । ‘संवैधानिक मार्गबाट निकास खोज्न सकेको भए राम्रो हुन्थ्यो । यो अवस्थाबारे न्यायिक परीक्षण हुन्छ । तर अहिलेको निकासको विकल्प भनेको संसद पुनर्स्थापना वा चुनाव हो,’ कांग्रेस प्रमुख सचेतक घिमिरेले भने ।


प्रतिक्रिया