काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम कसरी सुरु गर्ने भन्ने विषयमा विवाद भएको छ ।
ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेलले केन्द्रीय सदस्यहरूको नामको पहिलो अक्षरको उल्टो वर्णानुक्रम (ज्ञ बाट सुरु) गर्ने प्रस्ताव गरेपछि बैठकमा विवाद भएको हो ।
पहिलादेखि नै बैठकमा सदस्यहरूको नाम सुल्टो वर्णानुक्रम (‘अ’बाट ‘क’ हुँदै ‘ज्ञ’सम्म) अनुसार बोल्ने परम्परा थियो । तर, यसपटक महासचिव पोखरेलले उक्त परम्परा उल्ट्याउने प्रस्ताव गरेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिवाद गरेका हुन् । उनको समर्थनमा केही अन्य केन्द्रीय सदस्यहरू पनि उत्रिएका छन् ।
विवाद बढेपछि केही सदस्यहरूले पहिले पदाधिकारीहरूले नै धारणा राख्नुपर्ने मागसमेत गरेका छन् । त्यसपछि बैठकमा ‘खाजा ब्रेक’ गरिएको छ । बैठकमा प्रत्येक सदस्यलाई धारणा राख्न ३–३ मिनेटको समय तोकिएको छ ।


प्रतिक्रिया