काठमाडौं । नेपाल तेस्रो पटक आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ ।
आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर–सिक्समा आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सामोआलाई हराएसँगै नेपाल शीर्ष ३ मा पर्ने पक्का भएर विश्वकपमा छनोट भएको हो । नेपाल यसअघि सन् २०१४ र २०२४ को विश्वकपमा छनोट भएको थियो ।
नेपालसँगै घरेलु टोली ओमान पनि विश्वकपमा छनोट भएको छ । नेपाल र ओमान दुवै टोली आफ्नो २ खेलअघि नै विश्वकपमा छनोट भएका हुन् । अब एउटा टोली छनोट हुन बाँकी छ ।
सुपर–६ मा लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले घरेलु टिम ओमानविरुद्ध ३८ रनको जित निकालेको छ । जितसँगै सुपर–६ को शीर्ष स्थानमा उक्लिएको नेपालले आठ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा आसिन ओमानको ६ अंक छ ।
बुधबार ओमानको अल अमेरतमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११३ रनमात्र बनाउन सक्यो ।
ओमानका लागि विनायक शुम्लाले सर्वाधिक ३२ रन र मोहम्मद नदीमले २५ रन बनाए ।
नेपालका लागि गुल्शन झाले ३, नन्दन यादव र सोमपाल कामीले २-२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको संयमित अर्धशतक मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो ।
भुर्तेलले ५१ बलमा ६९ रन बनाए । आसिफ शेखले २४ रन, गुल्शन झाले १८ तथा आदिल आलमले १६ रन बनाए । अन्यबाट उल्लेख्य योगदान हुन सकेन ।
ओमानका लागि नदीम खानले ४ विकेट, शुफिया मेहमुद र जितेन रामानन्दीले २-२ विकेट लिए ।
नेपालले अब प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार समोअविरुद्ध प्रतिस्पर्धा गर्नेछ । सुपर–सिक्सको पहिलो खेलमा नेपालले यूएईलाई १ रन र दोस्रो खेलमा कतारलाई ५ रनले हराएको थियो ।


प्रतिक्रिया