राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० विश्वकप २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली तेस्रो पटक छनोट हुन सफल भएको ऐतिहासिक उपलब्धिमा हर्ष व्यक्त गर्दै टोलीका सबै खेलाडी, प्रशिक्षक र नेपाल क्रिकेट संघ (क्यान) लाई हार्दिक बधाई दिएका छन् ।

राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै यो सफलता नेपाली खेलकुद क्षेत्रका लागि गौरवपूर्ण क्षण भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, “यो ऐतिहासिक सफलताका लागि तपाईंहरूको निरन्तर मेहनत, समर्पण र अनुशासन प्रशंसनीय छ ।”

राष्ट्रपतिले नेपाली क्रिकेट टोलीले प्रदर्शन गरेको सामूहिक भावना र प्रतिबद्धताले देशको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा उच्च बनाएको बताएका छन् । उनले आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्दै विश्वमञ्चमा नेपालको गौरव बढाउने विश्वास व्यक्त गरेका छन् ।