काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोविरुद्ध हमला गर्दै उनलाई ‘अवैध ड्रग डिलर’ करार दिएका छन् । कोलम्बियालाई दिइँदै आएको अमेरिकी सहायता रोक्ने घोषणा गरेका छन् ।
फ्लोरिडास्थित आफ्नो मार–ए–लागो रिसोर्टबाट गरिएको सामाजिक सञ्जाल पोस्टमा ट्रम्पले पेट्रो अत्यन्त अलोकप्रिय र कमजोर नेता भएको जसले देशमा लागुऔषधको उत्पादन रोक्नका लागि केही काम नगर्ने लेखेका छन् ।
डोनाल्ड ट्रम्पले यदि पेट्रोले ड्रग कारोबार नरोकेमा अमेरिकाले आफैँ यसलाई बन्द गरिदिने चेतावनी दिएका छन् । यो भनाइ यस्तो समयमा आएको छ, जब अमेरिका र कोलम्बियाबीच पछिल्लो केही समयदेखि तनाव बढिरहेको छ । यद्यपि, विगतमा दुवै लामो समयदेखि नजिकका सहयोगी मानिन्थे ।
गत महिना अमेरिकाले कोलम्बियामाथि लागुऔषधविरुद्धको लडाइँमा सहयोग नगरेको आरोप लगाएको थियो । यद्यपि, त्यसबेला सहायता जारी राख्नका लागि प्रतिबन्धहरूलाई अस्थायी रूपमा टालिएको बताएको थियो ।
संयुक्त राष्ट्रसंघको एक रिपोर्टअनुसार, कोलम्बिया विश्वमा कोकिनको सबैभन्दा ठूलो निर्यातक हो र कोका पातहरूको खेती गत वर्ष इतिहासकै उच्चतम स्तरमा पुगेको थियो ।
ट्रम्पको यो भनाइले दुई देशबीच पहिलेदेखि नै रहेको तनावलाई अझ गहिरो बनाउन सक्ने बताइएको छ । अमेरिकाले कोलम्बियालाई लागुऔषधविरोधी अभियानका लागि हरेक वर्ष करोडौँ डलरको सहयोग दिँदै आएको छ ।


प्रतिक्रिया