विश्वकप लिग-२ एकदिवसीय सिरिजमा युएईसँग भिड्दै नेपाल

विश्वकप लिग-२ एकदिवसीय सिरिजमा युएईसँग भिड्दै नेपाल



काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्दैछ ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान सवा ११ बजे नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

लिग-२ को जारी सिरिजको अघिल्लो खेलमा नेपाल अमेरिकासँग पराजित भएको थियो । आइतबार भएको खेलमा नेपालले कमजोर ब्याटिङ गर्दा १०६ रनको पराजय भोग्नुपरेको थियो।

युएईसँग पछिल्लो पाँच एक दिवसीय खेलमा नेपाल विजयी भएको छ । यसअघि आइसिसी टी-२० विश्वकप छनोटका खेलमा पनि नेपालले युएईलाई पराजित गरेको थियो ।

१ नोभेम्बरमा अमेरिका र ५ नोभेम्बरमा फेरि युएईसँग खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ ।

एकदिवसीय टोलीमा भीम सार्की, अनिलकुमार साह र साहब आलम टोलीमा परेका छन् । यसअघि टी-२० टोलीमा रहेका लोकेश बम, सन्दीप जोरा र आदिल अन्सारी एकदिवसीय टोलीमा छैनन् । बाँकी १२ टी-२० टोलीका खेलाडी एकदिवसीय टोलीमा समावेश छन् ।

नेपाली टोली: रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), कुशल भुर्तेल, मो. आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मो. आसिफ शेख, अनिल कुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशी ।