काठमाडौं । मधेस प्रदेशका निजी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । निजी स्वास्थ्य संस्थामा भइरहेको श्रमशोषण र दमन अन्त्यको माग गर्दै स्वास्थ्यकर्मी आठसूत्रीय मागसहित पूर्वघोषित कार्यक्रमानुसार शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् ।
आफूहरू लामो समयदेखि न्यून तलब, असमान व्यवहार र असुरक्षित वातावरणमा काम गर्न बाध्य भएको उनीहरूले बताएका छन् । नेपाल सरकारको ऐनानुसार तलब ‘स्केल’ लागु, सरकारी स्वास्थ्य संस्थाका करारकर्मीलाई हटाई लोकसेवा आयोगबाट विज्ञापन, स्वास्थ्यकर्मीको बिमा र सुरक्षाको व्यवस्था गर्नुपर्ने, हप्तामा अधिकतम ४२ घण्टा मात्र कामको सीमा तोक्नुपर्ने माग स्वास्थ्यकर्मीको छ ।
मन्त्रालयबाट पटक–पटक सूचना जारी भए पनि निजी अस्पतालले कार्यान्वयनमा नल्याएकाले स्वास्थ्यकर्मीको मनोबलमा गम्भीर असर परेको र आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको स्वास्थ्यकर्मी नवेश अधिकारीले बताए ।
जिल्ला प्रशासन, श्रम मन्त्रालय, मुख्यमन्त्रीको कार्यालय र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराइए पनि हालसम्म कुनै ठोस पहल नभएको स्वास्थ्यकर्मीको गुनासो छ ।
आन्दोलनका क्रममा बिरामी सेवामा समस्या आए यसको सम्पूर्ण जिम्मेवारी अस्पताल सञ्चालक र सम्बन्धित मन्त्रालयले लिनुपर्ने उनीहरूको भनाइ छ ।


प्रतिक्रिया