काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूबाट तत्काल ठूलो मात्रमा कर्जा प्रवाह हुने स्थिति नदेखिएपछि राष्ट्र बैंकले लामो समयका लागि निक्षेप खिच्न थालेको छ ।
पछिल्ला दिनहरूमा बजारमा कर्जाको माग धेरै बढ्न नसक्दा बैंक, वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिरहेको छ । यसैलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले लामो समयका लागि मौद्रिक उपकरणको प्रयोग गर्न थालेको हो ।
नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो ।
गएकाे बुधवार पनि राष्ट्र बैंकले बजारबाट १७५ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ उठाएको थियो । त्यसअघि राष्ट्र बैंकले यति धेरै अवधिका लागि पछिल्ला वर्षहरूमा निक्षेप उठाएको थिएन । बैंकहरूले तत्काल कर्जा प्रवाह गर्ने छाटकाट नदेखाएपछि राष्ट्र बैंक दीर्घकालीन रूपमै निक्षेप व्यवस्थापनमा लागेको यसबाट प्रष्ट देखिएको छ ।
अहिले कुल निक्षेप ७४ खर्ब रुपैयाँभन्दा धेरै पुगेको छ । केन्द्रीय बैंकका अनुसार ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज आउँदाे वैशाख १३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।
बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।


प्रतिक्रिया