काठमाडौं । रामकुमारी झाँक्रीसहितका नेता चार वर्षपछि नेकपा (एमाले) फर्किएका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममार्फत झाँक्री, किसान श्रेष्ठसहित गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमल्सिनासहितका केन्द्रीय सदस्यहरू एमाले फर्किएका हुन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झन्डा दिए । श्रेष्ठ र तिमल्सिनाले ओलीलाई कलम दिए । एमालेबाट ०७८ भदौ २ गते विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी नेकपा (माओवादी)सहितका १० घटकसँग मिसिन नगएका नेताहरू एमाले फर्किएका हुन् ।
०७८ भदौ २ गते माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजनका लागि निर्वाचन आयोग निवेदन दिइएको थियो । एकीकृत समाजवादीमा लामै समयदेखि झाँक्रीसहितका नेता असन्तुष्ट थिए । बीचमा नै एमाले फर्कने चर्चा भएको थियो । तर, पार्टी नै अस्तित्वमा नरहने भएपछि उनीहरू एमाले फर्किएका हुन् ।
कार्यक्रममा राजाराम स्याङतान, ववि चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार गौतम, सावित्री न्यौपाने, उत्तम श्रेष्ठ, केशव सापकोटालगायतलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।


प्रतिक्रिया