निर्वाचन गराउने सन्दर्भमा सबैले राम्रो नियत राखौं : कानुनमन्त्री सिन्हा

निर्वाचन गराउने सन्दर्भमा सबैले राम्रो नियत राखौं : कानुनमन्त्री सिन्हा



काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको मुख्य पक्ष राजनीतिक दल भएकाले चुनावको वातावरण बनाउन उनीहरूको उत्तिकै भूमिका रहने बताएका छन् ।

नेपाल कानुन समाजद्वारा मंगलबार (कात्तिक २५) आयोजित ‘आगामी प्रतिनिधिसभाको निर्वाचनः चुनौती र अवसर’ विषयक अन्तर्क्रियामा सिन्हानले सरकार, राजनीतिक दल र अन्य सरोकारवाला पक्षबीचको घनिभूत छलफल र बहसले चुनावी वातावरण बनाउने बताए ।

“जसका लागि चुनाव आवश्यक छ, उनीहरूले पनि वातावरण बनाउन भूमिका खेल्नुपर्छ, निर्वाचन गराउने सन्दर्भमा सबैले राम्रो नियत राखौँ, निकास दिऔँ,” सिन्हाले भने ।

सरकारले आगामी निर्वाचनलाई केन्द्रित गरी राजनीतिक दल र नेतासँग निरन्तर संवाद गरिरहेको उनले बताए । राज्य सञ्चालनको अनुभवका कारण कतिपय सन्दर्भमा केही कमीकमजोरी भए पनि वर्तमान संकटबाट मुलुकलाई निकास दिलाउन भरमग्दुर प्रयास गरिरहेको उनको भनाइ छ ।

मन्त्री सिन्हाले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिलाउनेसम्बन्धी प्रक्रिया र तयारीको अवस्था शून्य रहेको त्यसको सम्भावना पहिचान गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

उनले भने, “युवा पुस्ताले अवसरको खोजी गरिरहेको छ, उनीहरूको भावनालाई सम्बोधन गर्न सरकार क्रियाशील छ, संकटको निकास दिन जिम्मेवारीका साथ काम भइरहेको छ, यसमा शंका गर्नुपर्दैन ।”