गगनलाई जितजंगले भने- हामी नेपो किड्स हैनौं, नेपो ज्वाइँ पनि हैनौं

गगनलाई जितजंगले भने- हामी नेपो किड्स हैनौं, नेपो ज्वाइँ पनि हैनौं

विशेष महाधिवेशनका नाममा संगठन कब्जा गर्न खोजिएको आशंका



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले महामन्त्री गगन थापालाई नियमित महाधिवेशन कसले रोकेको छ ? भन्दै प्रश्न गरेका छन् । जारी केन्द्रीय समिति बैठकमा बोल्दै आफूहरू नेपो किड्स र नेपो ज्वाइँ नभएको उनले बताए ।

उनले भने, ‘क्रियाशील सदस्य छानबिन समितिको संयोजक स्वयं महामन्त्रीज्यू, तर काम नगर्ने र अरूको नाममा दोष थोपर्ने प्रवृत्ति किन ? यदि मंसिरमा महाधिवेशन सम्भव छ भने– तालिका ल्याउनोस् । तर तालिका ल्याउनुअघि क्रियाशील छानबिन, वितरण; दोस्रो चरणमा वार्डदेखि तहगत अधिवेशन; अनि अन्त्यमा केन्द्रीय अधिवेशन, यही व्यवस्थित क्रमअनुसार अघि बढ्नुपर्छ ।’

महामन्त्रीले पुसमा महाधिवेशन गर्ने प्रस्तावमा प्रदेश र जिल्ला अधिवेशनको तालिका नभएको बताए । पुसमा महाधिवेशन असम्भव छ भन्ने कुरा महामन्त्री प्रस्तावले नै पुष्टि गर्ने बताए । देश, पार्टी, लोकतन्त्रका लागि आवश्यक परेको बेलामा हरेक आन्दोलनको अग्रपंक्तिमा उभिएको उल्लेख गरे ।

उनले विशेष महाधिवेशनका नाममा संगठन कब्जा गर्न खोजिएको आशंका पनि गरेका छन् । ‘५४ प्रतिशत महाधिवेसन प्रतिनिधिको हस्ताक्षर सनाखत अनिवार्य छ, महामन्त्रीले पनि यो जिम्मेवारी लिनुपर्छ,’ केन्द्रीय सदस्य बस्नेतले प्रश्न गरे, ‘सजिलै संगठन कब्जा गर्न सोचेको त होइन ? सजिलै कब्जा हुन्छ त ?’

उनले पार्टीमा आफूहरूको पनि रगत–पसिना र त्याग–समर्पण मिसिएको जिकिर गरे । ‘आजको प्राथमिकता नेतृत्व परिवर्तन होइन, पार्टीको नीति, कार्यक्रम र सञ्चालन प्रणालीमा पुनरावलोकन हो,’ बस्नेतले भने, ‘विशेष महाधिवेशन भन्नेहरूसँग प्रश्न कुन नियमावली ? कुन कार्यविधि ? कसरी व्यवस्थापन गर्ने ?,’