मतदाता नामावली दर्ताकाे समय थप्न प्रधानमन्त्री कार्कीको आग्रह

मतदाता नामावली दर्ताकाे समय थप्न प्रधानमन्त्री कार्कीको आग्रह



काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ताकाे समय थप गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग आज टेलिफोन कुराकानीमा प्रधानमन्त्री कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र अहिलेको चापलाई ध्यानमा राखी म्याद थपका लागि आग्रह गरेकी हुन् ।

यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएको प्रधानमन्त्रीको सचिवालय जनाएको छ ।

राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोदेखि अनलाइनबाट नाम दर्ता गराउनेको चाप उच्च छ । यसअघि निर्वाचन आयोगले तोकेको अवधि पर्सि कात्तिक ३० गतेसम्म छ ।

यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छन् । पछिल्लो समस्या पनि समाधान गर्दै अघि बढिरहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जानकारी गराएका छन् ।