एमाले नेशनल युथ भोलेन्टियर फोर्सकाे कमाण्डरमा पुष्पराज श्रेष्ठ

एमाले नेशनल युथ भोलेन्टियर फोर्सकाे कमाण्डरमा पुष्पराज श्रेष्ठ

फोर्ससँग कोही पनि आत्तिनुपर्दैन, तर्सिनुपर्दैन : ओली



काठमाडौं । नेकपा एमालेले युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ को केन्द्रीय कमाण्ड घोषणा गरेको छ ।

काठमाडौंको माइतीघरस्थित कार्की बान्क्वेटमा आयोजित कार्यक्रममा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले ११ सदस्यीय केन्द्रीय कमाण्डर घोषणा गरेका गरकेा हुन् ।

केन्द्रीय कमाण्डरको प्रमुखमा पुष्पराज श्रेष्ठलाई तोकिएको छ ।

अध्यक्ष केपी ओलीले राज्यले मात्रै देशमा शान्ति सुरक्षा कायम गर्न नसक्ने भएपछि नेसनल भोलेन्टियर फोर्स गठन गरेको बताएका छन् । फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै राष्ट्र हितको लागि काम गर्ने बताए ।

उनले भने, ‘यो राष्ट्रिय हितका लागि गठन भएको हो । एमालेसँग असहमति राख्ने अथवा यो संगठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षा गर्ने कामको लागि यो गठन भएको हो । यसको गठन र विकाससँग कोही पनि आत्तिनुपर्दैन, तर्सिनुपर्दैन । यो देशमा शान्ति सुरक्षाको लागि गठन गरिएको हो ।’

राज्य संयन्त्रले मात्रै जनताको जिउधनको रक्षा गर्न नसकेको आफूहरूले भोगेको बताए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री सुशीला कार्कीले कच्चा कुरा गरेको भन्दै आपत्ति पनि जनाए । यसअघि राजनीतिक दलहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्ने हो भने अवस्था अझै अस्थिरताको चक्रमा फस्ने बताएकी थिइन् ।

उक्त भनाइको जवाफ दिँदै ओलीले के भन्न खोजेको ? भन्दै प्रश्न गरे । ‘यदि यो सरकार संविधानसम्मत बनेको छैन भन्ने हो भने त झनै विद्रोह हुन्छ रे । कसले विद्रोह गर्छ ? अर्थात् नेपाली जनतालाई धम्क्याएर, तर्साएर अस्तिको भन्दा ठूलो विद्रोह हुन्छ रे ? फेरि आगो लगाउने ? के भनेको हो त्यो ?,’ ओलीले भने, ‘प्रधानमन्त्रीज्यूले भन्नुभएको यो योजना हो कि अनुमान हो ? म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु । योजना हो भने सपना नदेख्नुस् । अनुमान हो भने डराउन छाड्नुस् । नेपाली जनतालाई पनि डर देखाउन छाड्नुस् ।’